परिचय

परिचय

युगौ देखि एकात्मक शासन व्यवस्थाले यहाँको सम्पूर्ण भाषा भाषीको अस्तित्वलाई समाप्त गरिएको सर्व विदितै छ । कुनै पनि समाजको अस्तित्व वा पहिचान कायम राख्नको लागि धर्म, संस्कृति, भाषा र लिपिको ठूलो भूमिका हुन्छ । भाषा भनेको मानव समाजको सभ्यताको प्रतिक हो । भाषा विकासको निम्ति लिपिको ठूलो महत्व हून्छ । लिपि विनाको भाषा अपभ्रंसित हुने र मौलिक भाषा माथि अन्य भाषाको अतिक्रमण हुदै जान्छ र आफ्नो मौलिकता समाप्त हुन्छ । आफ्नो मौलिक भाषा, धर्म र संस्कृतिलाई संरक्षण तथा संवद्धनका निम्ती नेपालका आदिवासीहरुले अतुलनिय योगदान गरेको साक्षी छ ।

वि.सं. २०४६ सालको जनआन्दोलनबाट बहुदलिय प्रजातन्त्रको उदय पश्चात २०४७ सालको संविधानको धारा १८ उपधारा २ र २०६३ सालको अन्तरिम संविधानको धारा १७ उपधारा ३ बमोजिम प्रत्येक समुदायका मातृभाषाका माध्यमबाट शिक्षा दिन सकिन्छ भन्ने किटान गरिएको छ । २०४९ सालको पाचौँ संसोधन शिक्षा नियामवालीमा मातृभाषालाई पाठ्याभार ४ को व्यवस्था गरिएको छ भने २०७२ सालको संविधानले मातृभाषालाई ओजेलमा राखी कानुन बमोजिम हुनेछ भन्ने शब्द चयन गरिएको छ । समग्रमा मातृभाषा शिक्षाविना विश्वको कुनै पनि राष्ट्रको सन्तुलित विकास सम्भव छैन ।

मातृभाषाा सहितको पाठ्यपुस्तकको पाठ्यभार चौतिस (३४) अध्यन अध्यापन गराउदा बहुसंख्यक विद्यार्थीहरुले बोल्ने मातृभाषाको छनोट गरि पठन पाठन गर्नुपर्छ भनी किटानी गरी संविधान, नियम र कानुनमा व्यवस्था भए पनि शिक्षा मन्त्रालय, शिक्षक सेवा आयोग, शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक जनशक्ति विकास केन्द्र र जिल्ला शिक्षा कार्यलयहरुको कार्यन्वयन पक्ष फितलो भएको कारण पाठ्यक्रम विकास केन्द्रले तयार गरिएको पाठ्यपुस्तक पाठ्यभार चौतिस (३४) अध्यन अध्यापन गर्न नसक्ने जनशक्तिलाई अध्यापन अनुमति पत्र दिएर शिक्षक सेवा आयोगले मातृभाषालाई चुनौति दिईरहेको सर्वविदितै छ ।

मातृभाषाा सहितको पाठ्यपुस्तक एक सेट खरिद गर्नको निम्ती नेपाल सरकारले प्रत्येक विद्यार्थीहरुलाई रकमको व्यवस्था गरिएको र शिक्षा विभागले सबै जिल्ला शिक्षा कार्यहरुलाई पटक–पटक परिपत्र पठाउँदा पनि मातृभाषाको पाठ्यपुस्तक खरिद नगरी जनजातिका विद्यार्थीहरुलाई थप अङ्गे्रजीका पुस्तक किन्न लगाई मातृभाषाका नाममा आएको रकम हिनामिना गरी विद्यालय प्रशासनले विल भरपाई मिलाई भ्रष्टाचार गरिएको प्रस्ट देखिन्छ ।

पाठ्यपुस्तक भनेको रसुवाको तामाङ र रामेछापको तामाङको छुट्टाछुट्टै हुन सक्दैन । पूर्व मेचि देखि पश्चिम महाकाली सम्म बसोबास गर्ने सम्पूर्ण तामाङहरुको भाषाहरुलाई एउटै मापदण्डको पाठ्यपुस्तक निर्माण गरी तामाङ भाषालाई एक रुपता कायम गर्न निर्माण गरिएको मातृभाषाको पाठ्यपुस्तक नै राष्ट्रिय मापदण्डको पाठ्यपुस्तक हो । त्यस्तै नेपाली भाषा पूर्व मेचि देखि पश्चिम महाकाली सम्म भाषिक रुपमा फरक भएता पनी एक रुपता कायम गर्न नेपाली भाषामै पाठ्यपुस्तक तयार गरी पठन पाठन गरिएको प्रस्ट छ । शिक्षा विभागले देवनागरिक लिपिलाई छाटकाँट गरी जिल्लै पिच्छेको पाठ्यपुस्तक तयार गर्न लगाई तामाङ समुदायलाई अन्योलमा पारी राखेको छ । त्यसै गरी सम्भोटा लिपीलाई छाँटकाट गर्न लगाई तिस वटा वर्णमा आठओटा वर्ण च्या, छ्या, झ्या, ञ्या, श्याह, स्हा, श्या, अ लाई झिकेर त, थ, द थपेर २५ वटा वर्णको तमिक भन्ने नाम राखी पुस्तक लेखाई तामाङहरुको मौलिक भाषा लिपि संस्कृतिलाई नष्ट गर्ने भ्रम फैलाएको सर्वविदितै छ, यसै गरि अङ्गे्रजी भाषाको २६ वटा वर्णलाई हटाई २० मात्रै वर्ण राखी पाठ्यपुस्तक तयार गरी पठन पाठन गर्दा अङ्गे्रजी भाषाविद् बन्छ भनेर कल्पना पनि नगर्दा हुन्छ । यसरी नै देवनागरिक लिपि र संम्भोटा लिपिलाई छाटकाट गरी तामाङ समाजको २५ वटा वर्ण छ भनेर अगाडी बढाउन खोजेको खण्डमा तामाङहरुको अस्तित्व ढिलो वा चाडो समाप्त हुने छ र यस्तो कार्य तुरुन्त बन्द गरिएन भने सम्बन्धित पक्षले यसको गम्भिर परिणाम भोग्नु पर्नेछ । यस्तो विडम्वना लिपिबाट आगन्तुक शब्दहरुलाई लिपिबद्ध गर्न सकिदैन यसैगरी बौद्ध दर्शनका धार्मिक पुस्तकहरु पनी अध्यन अध्यापन गर्न सकिदैन । यस्तो विकृतिलाई तामाङ समाजले समयमै ध्यान पु¥याउन सकिएन भने तामाङ समाजको धर्म, संस्कृति, भाषा र लिपिमा ठूलो क्षति भोग्नु पर्नेछ । हजारौ वर्ष पहिले देखि तामाङहरु बौद्ध धर्म सँग सम्बन्धित भएको कुरा निम्न लिखित वाक्यांशहरुले पुष्टि गर्दछ । काभ्रे जिल्लामा अवस्थीत नमोबुद्धको इतिहास तामाङ समुदायहरुले मान्दै आएको तिमाल जात्राको बेला नमोबुद्धमा बत्तिबाली बौद्ध र स्वयम्भुमा चैत्र पूर्णिमाको दिन स्वदेश तथा विदेशमा रहेका तामाङहरु भेला भई बत्ति बाली ङोवा (श्राद्ध) गर्ने चलनले धर्म संस्कृतिको प्रमाणित गर्दछ ।

तिब्बत र भुटानका गुरुहरुले बौद्ध दर्शनलाई पाठपुजामा मात्र सिमित नराखी बौद्ध दर्शनमा भएको ज्ञानलाई विद्यालय र महाविद्यालयहरुमा वैज्ञानिक ढङ्गबाट व्यवहारिक शिक्षा दिएको हुनाले आजको २१ औ शताब्दीमा तिब्बत र भुटानका धर्मगुरुहरु संसारमै प्रसिद्ध भएको देखिन्छ त्यस्तै गरी तामाङ समुदायले पनी आफ्नो धर्म सँग सम्बन्धित भएको मौलिक भाषा र लिपिको माध्यमबाट शिक्षा दिनु अनिवार्य छ । तामाङ समाजको जन्म देखि मृत्यु सम्म सम्भोटा लिपिमा लेखिएको महायाना बौद्ध धर्म ग्रन्थको आधारमा पुजा पाठ गर्दै आइरहेको सर्वविधितै छ । युगौ देखि उपभोग गर्दै आइरहेको सम्भोटा लिपिको व्याकरण अनुसार आधारभुत तह देखि महाविद्यालयसम्मको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गरी सबै तहका विद्यालयहरुमा जब सम्म अध्यन अध्यापन गर्न सकिदैन तव सम्म विद्धान, गेशे र खेन्पाहरुको जन्म हुन सक्दैन । कुनै पनि समाजमा विद्धानहरुको जन्म भएन भने त्यो समाजको अस्तित्व विस्तारै समाप्त हुँदै जान्छ । आफ्नो समाजको भाषा धर्म र संस्कृतिलाई इतिहासमा जिवन्त राख्नका लागि आफ्नो मौलिक लिपिको व्याकरण अनुसार हामीले आफ्नो बालबालिकाहरुलाई व्यवहारिक शिक्षा दिनु पर्छ भन्ने हृदयगम गरी सम्भोटा लिपिको माध्यमबाट कक्षा १–५ को पाठ्यपुस्तक तयार गरी पाठ्यक्रम विकास केन्द्रको स्वीकृति लिई रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, धादिङ, ललितपुर, नुवाकोट, रसुवा, काठमाडौँ, भक्तपुर, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखा जिल्लाहरुको विद्यालयमा शिक्षकहरुलाई सम्भोटा लिपिमा प्रशिक्षक प्रशिक्षण तथा शिक्षक प्रशिक्षण तालिम नेपाला सरकार तथा गैर सरकारी संघ संस्थाहरुसँग समन्वय गरी १८४० जना शिक्षकहरुलाई सम्भोटा लिपिमा तालिम दिई मातृ भाषाको माध्यमबाट अध्यन अध्यापन गरिरहँदा क्रमश कक्षा ६–१२ को मातृभाषाको पाठ्यपुस्तक लेखन कार्य अन्तिमा चरणमा पुगेको यसै दस्तावेजबाट बुझ्न सकिन्छ ।

हाम्रो संस्थाको मुल उद्देश्य बौद्ध दर्शनमा भएका ज्ञानहरुलाई तामाङ भाषामा सरलीकरण गर्दै सम्भोटा लिपिमा आधारभुत तह देखि महाविद्यालय सम्मको पाठ्य पुस्तक तयार गरी वैज्ञानिक ढङ्गले व्यवहारिक शिक्षाको माध्यमबाट समाजको विकास गर्नको लागि धर्म गुरुहरु र बुद्धिजिवीहरु सँग समन्वय गरी भविष्यमा तामाङ बौद्ध विश्वविद्यालय निर्माण कार्यमा सक्रिय रहनेछौँ । यस महान ऐतिहासिक कार्य सफल पार्नका निम्ति सम्पादनको भूमिका निभाई सहयोग गर्नुहुने खेन रिम्पोछे गेशे ङीमा तामाङ, टुल्कु लोप्साङ नाम्ग्याल रिम्पोछे, गेशे लोप्साङ दावा तामाङ, आचार्य थुप्तेन देलेक तामाङ साथै विशेष सल्लाह सुझाव दिनु भई सहयोग गर्नु हुने समाजसेवि गजेन्द्र कुमार लामा तामाङ र नि वर्तमान स्रोत व्यक्ति ÷महासचिव पञ्चराम तामाङ तथा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौ । अध्यक्ष: सिंह बहादुर तामाङ

तामाङ समाजको भाषा लिपीको विकास गर्नको लागि विभिन्न संघ संस्थासँग समन्वय गरी काम अगाडी बढाउन खोज्दा त्यति सहज हुन सकेन र २०६० साल देखि नेपाल तामाङ सालीङ परिषद नामक संस्था स्थापना गरी तामाङ भाषा साहित्यको विकासको निम्ती संघर्षगरी अघि बढीरहेकै समयमा धर्म गुरुहरु र बुद्धिजिवीहरुको सल्लाह सुझाव अनुसार मिति २०६७ साल असोज ११ गते संस्थाको नाम परिवर्तन गरी (नेपाल तामाङ मातृभाषा सम्भोटा लिपी विकास प्रतिष्ठान) को नामाकारण गरियो । समाजसेवी श्री गजेन्द्र कुमार लामाको अध्यक्षतामा सात सदस्य तदार्थ समिती गठन गरियो उक्त समितीमा उपाध्यक्ष सिंह बहादुर तामाङ सचिव तासी कुमार लामा त्यस्तै सदस्यमा सूर्य बज्र लामा, नेपालजीत लामा, सुवास योन्जन र कर्म वाङ्गेल लामा रहेको थियो ।